सार्वजनिक वक्तव्य
२०७६ असार १
क्वयेर युवा समूहले यस वक्तव्य मार्फत सम्पूर्ण मिडियाकर्मीहरूलाई यही अषाढ १४ गते अर्थात् जून २९ का दिन बिहान १० बजे देखि फिब्वःख्यः (माइतीघर मण्डला)मा गौरव्यात्रा (Pride Parade) आयोजना हुन लागेको जानकारी दिन चाहन्छौँ। पहिला फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर खुन्थू (नयाँ बानेश्वर) सम्म र्याली गर्नेछौँ।
गौरव्यात्रा, अङ्ग्रेजीमा Pride Parade, विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका निम्ति गरिने र्याली हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अथवा क्वयेर व्यक्तिहरूको दृश्यता, विविध यौनिक पहिचानहरूको उत्सव र आफ्नो अधिकारका निम्ति संघर्षका रूपमा गौरव्यात्रा आयोजना गरिन्छ। जून महिनालाई अन्तर्राष्ट्रिय गौरवमास (International Pride Month) का रूपमा पनि चिनिन्छ। विश्वभरी यही महिनाका दिन विभिन्न देशहरूमा गौरव्यात्राको आयोजना हुने गर्दछ। त्यस्तो समाज जहाँ दुईवटा लिङ्गलाई मात्र मान्यता दिइन्छ, दुईवटा मात्रै लैङ्गिक पहिचानलाई स्थान दिइन्छ र केवल विपरीतलिङ्गी तर्फ हुने आकर्षणलाई सामान्य मान्दछ, ती समाजहरूमा लिङ्ग, लैङ्गिकता र यौन अभिमुखिकरणको विविधता हुन्छ भन्ने विषाबोध गराउन, जनचेतना जगाउन र आफ्नो हक हित स्वाभिमानका निम्ति गौरव्यात्राको आयोजना गरिन्छ।
सन् १९६९ मा अमेरिकाको न्यू योर्क शहरमा अवस्थित स्टोनवाल भन्ने होटेल अगाडी भएको आन्दोलनले गौरव्यात्राको सुरुवात भएको थियो। समाजले विभिन्न लाञ्छनापूर्वक रूपले हेर्दै आएका व्यक्तिहरूले आफ्नो निम्ति अधिकारको आवाज उठाउन सुरु गरेको यस गौरव्यात्राले विश्वमा क्वयेर (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक)को अधिकारका निम्ति विभिन्न उपलब्धीहरू हासिल गरेका छन्। वार्षिकावधि अन्तर्गत विभिन्न समयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका निम्ति विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै गरेतापनि गौरवमासमा गौरव्यात्राको आयोजना भने यो पहिलो पटक हो। यो गौरव्यात्रा २५ वर्ष भन्दा मुनीका युवाहरूको नेतृत्वमा आयोजना गरिएको छ।
यस वर्ष हाम्रो नारा : “राज्यको हरेक तह तप्का र निर्णयाक भूमीकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (क्वयेर) को समावेशी सहभागिता” रहेको छ। नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उल्लेख गरितापनि राज्यको कुनै अङ्ग वा तहमा हाम्रो समावेशिता कतै छैन। निर्णायिक तहमा कुनै समावेशिता नहुनाले बन्दै गरेको कुनै पनि ऐन, कानुन तथा नीति नियमहरूमा यस समूहको विषयलाई समावेश र सम्बोधन गरिएको छैन। यस समूहका लागि ऐन कानुनमा कतै उपर्युक्त व्यवस्था पनि छैन। तसर्थ निर्णायक भूमीकामा समान र समावेशी पहुँचका निम्ति आवाज उठाउँदै छौँ।
क्वयेर युवा समूह आफूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अन्तर्गत रहेको विभिन्न पहिचानहरू मध्ये पहिचान गर्ने युवाहरूको एउटा गैर-दर्तित समूह हो, जसको स्थापना २०१९ को सुरुवात देखि भएको थियो। लैङ्गिकता र यौनिकताको विविधता, अन्तर्वर्गिय दृष्टिकोण र विविधतावादी अभ्यास तीन मौलिक सिद्धान्तहरू रहेको यस समूहले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हक अधिकारका निम्ति वकालत र जनचेता फैलाउने काम गर्दछ।
संस्थापक सदस्यहरू:
दिपेश श्रेष्ठ, रुक्शना कपाली, सफल लामा
