
नेपाल संवत् ११४२ तछला २५
२०७९ जेठ २८ गते ।
आज हामी येँ (काठमाडौँ) को फिब्वख्यः (माइतीघर) मा भेला भई चौथो वार्षिक नेपाल गौरव यात्रा मनाइरहेका छौँ ।
गौरव यात्राको परिचय
विश्वभरी ईश्वी संवत् अनुसारको जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । गत शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ । यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू प्रति हुने सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्दछ । यो एउटा उत्सवजनक र्यालि हो ।
नेपालमा गौरव यात्रा
नेपालमा २०७६ साल देखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले हाम्रो देशमा पनि सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धीका सार्वजनिक कार्यक्रम र उपस्थिति बृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको छ । स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलीपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी जून महिनाको दोस्रो शनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो । २०७७ र २०८७ सालमा कोभिड-१९ विश्वमहामारीका कारण अनलाइनको माध्यमबाट गौरव यात्राको आयोजना भएको थियो । यस चौथो वर्षमा दोस्रो पटक भौतिक उपस्थितिमा गौरव यात्राको आयोजना हुँदैछ ।
आयोजक
नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) द्वारा गरिएको हो । हामी मुनाफा वितरण नगर्ने संस्था हौँ । हामी सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छौँ ।
गौरव यात्राको सुरुवात देखि क्वयेर राइट्स् कलेक्टिभ (Queer Rights Collective) को साथ थियो । यो एउटा फुक्का संजाल हो ।
२०७७ देखि क्याम्पेन फर चेन्ज (Campaign for Change) पनि जोडिन पुगेको हो । यस संस्थाले अन्तरलिङ्गी व्यक्तिहरूको हक अधिकारका निम्ति काम गर्दछ । अन्तरलिङ्गी हक अधिकारको क्षेत्रमा कार्यरत अन्तरलिङ्गी व्यक्तिहरूकै नेतृत्वमा रहेको यो पहिलो र हालसम्म एक मात्र संस्था हो ।
गौरव यात्राको नाम
यस गौरव यात्राको पूरा नाम नेपाल सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा हो । छोटकरीमा नेपाल गौरव यात्रा भन्ने गरेका छौँ ।
सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका आधारमा सिमान्तकृत वर्ग हो । यौन विशेषता (Sexual Orientation) का आधारमा सिमान्तकृत अन्तरलिङ्गी व्यक्ति (Intersex persons); लैङ्गिक पहिचान (Gender identity) का आधारमा सिमान्तकृत पारलैङ्गिक व्यक्ति (Transgender person) तथा गैर-द्वयसांखिक व्यक्ति (Non-binary person); एवं यौन अभिमुखिकरण (Sexual orientation) का आधारमा सिमान्तकृत समयौनिक (Homosexual), द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायतका समूहहरूलाई बुझाउँदछ ।
सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूलाई एकमुष्ट क्वयेर (Queer) पनि भन्ने गरिन्छ ।
नेपालको कानूनी क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पनि भन्ने गरिएको छ । तर यो शब्दावलीको सम्बन्धित जनसंख्यामा आलोचना छ ।
उचित शब्दावलीहरूको प्रयोग तथा अवधारणागत बुझाईका लागि देहायको पुस्तक पढ्नुहोला : https://nepalcfc.org/basic_sogiesc_nepali/
आजको कार्यक्रम
आज हामी बिहान १०:३० बजे येँ (काठमाडौँ) को फिब्वख्यः (माइतीघर) मा भेला भएका छौँ । हामी ११ देखि ११:३० सम्म भेला हुने छौँ ।
हामी नेपाली सांकेतिक भाषा, नेपाल भाषा, थकाली भाषा, बैतडेली भाषा, बाजुरेली भाषा, बझाङ्गी भाषा तथा नेपाली र अङ्ग्रेजी भाषामा स्वागत गर्नेछौँ ।
स्वागत भए लगतै र्यालि अघि बढ्नेछ ।
र्यालिमा हामीले अङ्ग्रेजी, नेपाली, नेपाल भाषा, तामाङ, मैथिली, भोजपुरी, बैतडेली, बाजुरेली, बझाङ्गी, बान्तावा लगायत नेपालका विभिन्न भाषाहरूमा ब्यानर ल्याएका छौँ । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको विविधतालाई झल्काउने विभिन्न गौरव झण्डा (प्राइड फ्लाएग) को पनि प्रयोग गरिएको छ ।
हाम्रो मुख्य ब्यानरमा नेपाल भाषा (रञ्जना लिपि, नेपाल लिपि र देवनागरी लिपि), मैथिली भाषा (मिथिलाक्षर लिपि), तामाङ भाषा (ताम यीग लिपि र देवनागरी लिपि), तमु / गुरुङ भाषा (खेमा लिपि र देवनागरी लिपि), याक्थुङ / लिम्बू भाषा (सिरिजङ्गा लिपि र देवनागरी लिपि), बाजुरेली भाषा (देवनागरी लिपि), तिब्बती भाषा (सम्भोटा लिपि), ब्राह्मी / धम्म लिपि, बान्तावा भाषा (देवनागरी लिपि), बाहिङ भाषा (देवनागरी लिपि), उर्दू भाषा, थाङ्मी भाषा (देवनागरी लिपि), नेपाली र अङ्ग्रेजी भाषा प्रयोग गरेका छौँ ।
र्यालिमा गीत र नाचगान पनि हुनेछ । यो एउटा उत्सवजनक र्यालि हो ।
र्यालि मण्डला परिक्रमा गरेर नयाँ बानेश्वर तर्फ लाग्नेछ । निषेधित क्षेत्र अगावै कोण सभा भई मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रम पछी बिदाई गर्नेछौँ र बिजुलीबजार पुगेर अन्त्य गर्नेछौँ ।
हाम्रा तीन सिद्धान्तहरू
१) लैङ्गिकता र यौनिकता स्प्रेक्ट्रम र विविधतापूर्ण हुन्छ । कुनै प्रकारको कोष्ठकरण , बक्सामा कुण्ठित पार्नुहुन्न ।
२) अन्तरसम्बन्धता (इन्टर-सेक्सनालिटी) महत्वपूर्ण विश्लेषण हो । हामी सबै प्रकारका सामाजिक उत्पीडन र असमानताको विरुद्ध छौँ ।
३) हामी विविधतावादी अभ्यास अपनाउछौँ ।
हाम्रा मान्यताहरू
१) कुनै संस्थाको ब्यानर नल्याउने । गौरव यात्रा कुनै संस्था-संस्थाको झुण्ड बनाएर गरिने र्यालि होइन । नेपालको प्रायः र्यालि अभ्यासमा संस्था-संस्थाको ब्यानर बोकेर आफ्नो संस्था अनुसारको ब्यानर पछाडी बस्न चलन छ । गौरव यात्रा त्यस्तो प्रकारको र्यालि होइन । यहाँ हामी संस्था होइन, एउटा आन्दोलनको प्रतिनिधित्व गर्दछौँ । हामी आयोजक संस्थाले पनि आफ्नो संस्थाको ब्यानर बोकेका हुँदैनौँ । यहाँ हामी सबै समान छौँ । संस्थाको ब्यानर बोक्ने अभ्यासले अन्तरघुलनलाई निषेध गर्दछ । त्यसै गरी कुनै संस्थासँग आबद्ध नभएका व्यक्तिगत तवरमा सहभागी हुन आएका व्यक्तिहरूलाई वहिष्कृत महसुस गराउँछ ।
२) कुनै विशेष अतिथि नहुने । हामी सबै समान हौं र उत्तिकै विशेष छौँ । हामी सेलिब्रिटी वा भिआइपि संस्कृति मान्दैनौँ ।
३) कुनै प्रकारको दुर्व्यवहार र हिंसा सह्य हुँदैन ।
४) हामी इन्द्रेणी पुँजीवाद (Rainbow Capitalism) को विरुद्ध छौँ । यो कुनै आर्थिक लाभ गर्ने गराउने कार्यक्रम होइन ।
५) यो गौरव यात्रा समुदायमा आधारित कार्यक्रम हो । यसमा कुनै दातृनिकाय, सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, कर्पोरेटक, इत्यादिको अनुदान स्वीकारिने छैन । यो गौरव यात्रा नितान्त समुदायको आधारमा रहनेछ ।
यहाँहरूलाई मनोरञ्जनात्मक हुने आशा गर्दछौँ ।