सार्वजनिक वक्तव्य २०२०

सार्वजनिक वक्तव्य २०२०
२० मे २०२० (७ जेठ २०७७)

यही सार्वजनिक विज्ञप्ती : अङ्ग्रेजीमा

हरेक वर्ष नेपालमा जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस (प्राइड डे)को रूपमा मनाइन्छ । लैङ्गिकता र यौनिकताको विविधतामा उत्सव मनाउन सन् २०१९ देखि नेपालले आफ्नै स्वायत्त र स्वतन्त्र गौरव यात्रा सुरु गरेको थियो । यस वर्ष जून महिनाको दोस्रो शनिबार १३ जून (३१ जेठ २०७७, ११४० तछलागाः अस्तमि)को दिन पर्दछ ।

नेपालमा गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप, क्वयेर राइटस कलेक्टिभ र क्याम्पेन फर चेन्जले आयोजना गर्दछन् । क्वयेर व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत क्वयेर युथ ग्रुप सन् २०१८ देखि अनौपचारिक संजालको रूपमा कार्यरत छ । हामी मुख्यतः वकालत र नीतिगत परिवर्तन, अनुसन्धान र ज्ञान सृजना, प्रकाशन र स्रोत निर्माण एवं आन्दोलन विकासका पक्षहरूमा काम गर्दछौँ । हामी मुनाफा-वितरण-नगर्ने संस्य्हाका रूपमा दर्ता हुने प्रकृयामा छौँ । क्वयेर व्यक्तिहरूको सपोर्ट ग्रुपको रूपमा क्वयेर राइटस कलेक्टिभ सन् २०१८ सञ्चालन भएको छ । त्यसै गरी सन् २०१६ देखि अन्तर्लिङ्गी व्यक्तिहरूको नेतृत्व रहेको अन्तर्लिङ्गी व्यक्तिहरूको अधिकारका क्षेत्रमा कार्यरत नेपालको पहिलो र एक मात्र संस्था हो ।

लैङ्गिकता र यौनिकतालाई द्वयसांखिक (बाइनेरी) र विपरीतको रूपमा हेर्ने सामाजिक बबलमा गौरव यात्राले विश्वव्यापी रूपमा लैङ्गिकता र यौनिकताको विविधताको उत्सव मनाउँदछ । नेपालमा क्वयेर व्यक्तिहरू सम्बन्धी विभिन्न उत्सवहरू भएतापनि सन् २०१९ मा स्टोनवाल विद्रोहको ५० औँ जयन्तीको भोली पल्ट नेपालमा पनि छुट्टै गौरव दिवस (प्राइड डे)को घोषणा भयो ।

यस वर्ष गौरव यात्रा कसरी हुँदैछ ?

कृपया यो घोषणाफेसबुक इभेन्टलाई हेरिदिनुहोला ।

नाम

पूरा नाम : नेपाल क्वयेर / सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा अङ्ग्रेजीमा : Nepal Queer/MOGAI/PoMSOGIESEC Pride Parade. 

छोटकरीमा : नेपाल गौरव यात्रा, अङ्ग्रेजीमा : Nepal Pride Parade

क्वयेर (Queer) : सामाजिक मान्यताको द्वयसांखिक (बाइनेरी) र विपरीत बुझाई भन्दा परका विविध लैङ्गिकता र यौनिकतालाई बुझाउने छाता शब्द

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्ति, PoMSOGIESEC – People of Marginalized Sexual Orientation, Gender Identity and Sex Characteristics.

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता भनेको के हो भनेर बुझ्न कृपया यस दस्तावेज, यो लेख वा यो शब्दकोष हेरिदिनुहोला ।

सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्ति वा क्वयेर व्यक्ति भन्नाले यौन विशेषताका आधारमा पुलिङ्गी र स्त्रीलिङ्गी शारीरिकीका दुई बक्सामा न-अटाउने विविध शारीरिकी भएका अन्तर्लिङ्गी (इन्टर-सेक्स) व्यक्तिहरू, लैङ्गिक पहिचानका आधारमा समाजिक मान्यतामा जन्मँदा यौनाङ्गको आधारले इङ्गित गरिने लिंग भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक / पारलिङ्गी व्यक्ति (ट्रान्सजेण्डर पर्सन), गैर-द्वयसांखिक व्यक्ति (नन्-बाइनेरी पर्सन), तेस्रोलिङ्गी व्यक्ति (थर्ड जेण्डर पर्सन) लगायतका लैङ्गिक पहिचानहरू, एवं यौन अभिमुखिकरणको आधारमा महिला-पुरुष बीचको यौन तथा प्रणयात्मक आकर्षण (सेक्सुअल एण्ड रोम्यान्टिक एट्राक्सन) बाहेकका उस्तै लैङ्गिकता तर्फ आकर्षण हुने समयौनिक व्यक्ति (होमोसेक्सुअल पर्सन), महिला पुरुष दुबै तर्फ आकर्षण हुने द्वियौनिक व्यक्ति (बाइसेक्सुअल पर्सन), जुनसुकै व्यक्ति तर्फ यौन आकर्षण हुने सर्वयौनिक व्यक्ति (प्यानसेक्सुअल पर्सन), कुनै यौन आकर्षण महसुस नगर्ने अयौनिक व्यक्ति (एसेक्सुअल पर्सन), लगायतका विविध पहिचानहरूलाई बुझाउने व्यापक शब्दावली हो ।

सामाजिक संजाल

हायेस-ट्याग : #NepalPrideParade #NPP2020 #गौरवयात्रा

हामी मुख्यतः टुइटर र इन्स्टाग्रामको प्रयोग गर्नेछौं ।

भाषा

भाषाको प्रयोगमा सबैलाई संवेदनशील र उत्तरदायी हुन हामी आग्रह गर्दछौँ । गलत भाषाको प्रयोगले हाल रहेका गलत धारणा, मिथ्याविचार, पूर्वाग्रह र लाञ्छनाको हिमालमा अझै योगदान पुर्याउने र त्यसलाई पुनरुत्पादन गर्ने काम मात्र हुन्छ ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक ?

क्वयेर व्यक्तिहरूको जनसंख्या कति हो कसैलाई थहा छैन र अल्पसंख्यक भनेर घोषित गर्नु डिस्मिसिभ हुन्छ । साथै यस जनसंख्याको तरलता र विविधतामा भन्दा ‘संख्या’मा बढी केन्द्रित रहन्छ ।

त्यसमाथी ‘यौन अल्पसंख्यक’ भन्नाले ‘मूलधारको समाजबाट भिन्न यौन अभ्यास गर्ने’ भन्ने बुझिन्छ । यसमा यौन व्यवसायी, गुनुत्वरीडाष्टी (बिडि-एस-एम) यौन अभ्यास गर्ने व्यक्तिहरू, विभिन्न कृत्रिमभूज कामोत्तेजना (किङ्क) र फेटिश भएका व्यक्तिहरू, बहुस्नेही (पोलियामोरस) अभ्यास, आफ्नो पार्टनर वा दम्पत्ती साटासाट गर्ने अभ्यास (सुइङ्गिङ), इत्यादी जस्ता व्यक्तिहरू पनि ‘यौन अल्पसंख्यक’ अन्तर्गत पर्छन् । सबै प्रकारका यौन अभ्यासहरू उत्तिकै भ्यालिड छन् तर ‘यौन अल्पसंख्यक’ शब्दले ठ्यक्कै विषमयौनिकता (हेट्रोसेक्सुआलिटी) बाहेकका विविध यौन अभिमुखिकरणका व्यक्तिलाई जनाउन सक्दैन वा अस्पष्ट हुन जान्छ । यौनिकता (सेक्सुआलिटी)ले विशाल प्रकृतिका यौनिक र कामुक अनुभव, अभ्यास र प्रस्तुतीकरणहरूलाई समेट्छ, र यौन अभिमुखिकरण भन्नाले को व्यक्ति कुन लैङ्गिकताका अरु व्यक्तिहरू तर्फ आकर्षण महसुस गर्दछ भन्ने विषय हो । ‘यौन अल्पसंख्याक’ अन्तर्गत पर्ने गुनुत्वरीडाष्टी (बिडि-एस-एम), किङ्क, फेटिश, बहुस्नेही (पोलियामोरी), स्विङ्गिङ, यौन व्यवसाय लगायतका यौन अभ्यासहरू सबै यौन अभिमुखिकरणका मानिसहरूले गर्दछन् ।

‘यौन अल्पसंख्यक’ विभेदकारी पनि छ किनभने मूलधारको सामाजिक अभ्यास भन्दा परका अभ्यासहरूलाई यसरी अन्यकरण गरिन्छ । संसारका कतिपय स्थानहरू जहाँ कालो छालाका व्यक्तिहरू कालो छालाकै व्यक्तिसँग र गोरो छालाका व्यक्तिहरू गोरो छालाकै व्यक्तिहरूसँग मात्र विवाह र यौन सम्पर्क गर्नुपर्ने मान्यता भएको ठाउँमा कालो छाला र गोरो छालाका व्यक्तिहरू बीच भएको सम्बन्धलाई समेत ‘यौन अल्पसंख्यक’ भनिएको पाइन्छ । त्यसै गरी उमेरको धेरै भेद हुने सम्बन्धहरूलाई पनि ‘यौन अल्पसंख्यक’ अन्तर्गत गनिन्छ । यस्तो प्रकारको सब्जेक्टिभ भाषाले महिला-पुरुष बीच योनी मैथुन मात्र गर्नुपर्छ भन्ने मान्यता रहेको समाजमा कसैले महिला-पुरुष बीच नै गुदद्वार मैथुन गरेमा उनीहरूलाई पनि ‘यौन अल्पसंख्यक’ भन्ने गरिएको छ ।

एकातिर ‘यौन अल्पसंख्यक’ भन्नाले ‘मूलधार’को यौन अभ्यासभन्दा फरक यौन अभ्यास गर्ने समस्त विविधतालाई जनाउँछ र ठ्याक्कै विपरीत लैङ्गिकताका व्यक्ति तर्फ हुने आकर्षण बाहेकका आकर्षणहरूलाई इङ्गित गरि जनाउँदैन र अर्को तिर मूलधार समाजले अभ्यास नगर्दैमा अन्यकरण र अल्पसंख्यकको उपमा दिने विभेदकारी अभ्यास छ ।

त्यसै गरी ‘लैङ्गिक अल्पसंख्यक’ भनेर लैङ्गिक विविधताको पनि अति-सरलीकरण हुन्छ । सामाजिक मूल्य मान्यतामा महिला र पुरुष अनि त्यस बाहेकका जो कोहीलाई ‘लैङ्गिक अल्पसंख्यक’ भनेर बक्सामा कोच्याउनु गलत छ । जस्तै अन्तर्लिङ्गी यौन विशेषताका व्यक्तिहरूले आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । पारलैङ्गिक महिलाहरू आफूलाई महिला भनेरै पहिचान गर्छन् भने पारलैङ्गिक पुरुषहरू आफूलाई पुरुष भनेरै पहिचान गर्छन् ।

एजलिबिटी ?

LGBT, LGBTIQ, LGBTIQAP, LGBTIQ+ गरी यस्ता थुप्रै सांक्षेप्तीकरणहरू प्रचलनमा छन् । हामी यी सांक्षेप्तीकरणहरू प्रयोग गर्दैनौँ । हामी “क्वयेर विविधता” वा “सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्ति” जस्ता व्यापक शब्दावलीको प्रयोग गर्छौँ । LGBTI भन्नु अर्को हिसाबले लैङ्गिक तथा यौनिक विविधतालाई कुण्ठित पार्नु हो । LGBTI भन्नाले समयौनिक महिला, समयौनिक पुरुष, दियौनिक व्यक्ति (यौन अभिमुखिकरण), पारलैङ्गिक व्यक्ति (लैङ्गिक पहिचान), अन्तर्लिङ्गी व्यक्ति (यौन विशेषता) हो । अब यसो भन्दा यी पाँचवटा बाहेकका विविधताहरू छुटिने भयो । साथै LGBTI सांक्षेप्तीकरणको चलनचल्तीले अर्को भ्रम पनि के सृजना गर्यो भन्दा महिला पुरुष अनि LGBTI हुन्छ भनेर । जब कि यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता छुट्टा छुट्टै विषय हो । यो गौरव यात्रा LGBTI व्यक्तिहरूको मात्र होइन, हाम्रो सामाजिक मूल्य मान्यता भन्दा परका विविध यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताहरूको व्यापकतालाई समेट्छ । अयौनिक, सर्वयौनिक, गैर-द्वयसांखिक, इत्यादी विविधताहरूलाई LGBTI ले समेट्दैन र यो गौरव यात्रा LGBTI मा मात्र सीमित पनि छैन ।

साथै हामी लैङ्गिका र यौनिकतालाई समाजले जस्तै कुण्ठित वा बाकसमा राखेर हेर्दैनौँ । यसरी LGBTI मात्र भनेपनि यौनिकता र लैङ्गिकतालाई फेरी अर्को बाकसहरूमा कुण्ठित हुन जान्छ । यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता सम्बन्धीका भाषा र पहिचानहरू इभोल्भिङ नै छन् र रहीरहन्छन् । सामाजिक मूल्य मान्यतामा फलाना यौनाङ्ग भएको मानिसको लैङ्गिकता यही हुनुपर्छ यसले यही लैङ्गिकताको व्यक्तिसँग विवाह गर्नुपर्छ भन्ने कुण्ठित मान्यताले समेट्न नसकेका लैङ्गिक र यौनिक विविधताको बारे वकालत गर्दा, कुनै व्यक्तिको जस्तोसुकै नै शारीरिकी, लैङ्गिक पहिचान र प्रस्तुतीकरण र/वा यौन अभिमुखिकरण भएतापनि नीजलाई कुनै लाञ्छना रहित स्वतन्त्र जीवन बाँच्न पाउने अधिकारको कुरा गर्दा फेरी अर्कै एक थान कुण्ठित बाकसहरू सृजना गर्नु गलत हुन्छ ।

समलिंगी तेस्रोलिंगी र्यालि ?

यो गौरव यात्रा समलिंगी / तेस्रोलिंगी र्यालि होइन । तेस्रोलिंगी भनेर पहिचान गर्ने व्यक्तिहरू अवश्य पनि सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिको छाता अन्तर्गत पर्दछन् तर यो विविधतापूर्ण छातलाई केवल तेस्रोलिंगी व्यक्तिहरूमा झारेर हेर्नु मिल्दैन ।

मिडियाकर्मीहरू:

  1. कृपया आफूले आफैलाई शिक्षित बनाउनुहोला । यस विषयमा जति पनि स्रोत सामाग्रीहरू छन्, र कतिपय स्रोत सामाग्री त यही सार्वजनिक विज्ञप्तीमा लिङ्क गरिएका छन् । सूचना एक क्लिक मात्र ताढा छ ।
  2. कृपया हामीलाई सही ढङ्गले सम्बोधन गर्न सक्नुहुन्न वा हाम्रो उत्पीडनमा जरा गाडेको सामाजिक मान्यताहरूलाई असीख (अनलर्न) गर्न सक्नुहुन्न भने यस इभेन्ट बारे रिपोर्ट नगरिदिनुहोला । तपाइँको एउटा अपव्याख्याको मोल मानिसको जीवन सम्म हुन सक्छ र यसले पहिल्यै देखि रहीआएका लाञ्छनामा झनै भार थप्ने र मानिसहरूलाई उत्पीडनमा पार्ने काम मात्र पर्छ । पहिल्यै देखि रहिआएका गलत धारणा, रूढिवर्गिकरण (स्टेरियोटाइप) र लाञ्छनामा थप योगदान हुने गरी गलत सूचना वा अपव्याख्या गरिएको सूचना प्रकाशित हुनु भन्दा यसको कभेरेज नै नहुनु जाती ।
  3. कुवोट गर्नु वा अन्तर्वारता लिनु : मानिसहरू आफूलाई कसरी चिनाउन चाहन्छन् भनेर सोध्नुहोला । कसैको लैङ्गिकता अनुमान नगर्नुस् । कृपया कसैलाई लैंगिकताबोधक शब्दहरून नथोपार्नु । यदि नीजलाई सोध्न सम्भव नभएको खण्डमा लैङ्गिक तटस्थ भाषाको प्रयोग गरिदिनुहोला ।
  4. हामी क्लिकबेट होइनौँ । हामी तपाइँको प्लेजरको पुतला होइनौँ । सामाजिक मान्यताहरूमा फिट नभएकैले लाञ्छना लगाउने र त्यसलाई पुनरुतपादन गर्ने प्रश्नहरू नसोध्नुहोला ।
  5. अन्यकरण बन्द गरौँ ! अपवादिकरण बन्द गरौँ ! तोडमोड गर्न बन्द गरौँ !

हाम्रो सिद्धान्तहरू / नेगोसियेट गर्न नसकिने विषयहरू:

  1. लैङ्गिकता र यौनिकता स्प्रेक्ट्रम विविधताको रूपमा – कुनै प्रकारको कोष्ठकरण, बक्सामा कुण्ठित नपार्ने । विविधता, स्प्रेक्ट्रम र तरलता तीन प्रमुख शब्द ।
  2. अन्तर्वर्गियता (इन्टर-सेक्सनालिटी) – सबै समाजिक उत्पीडन, दमन र असमानता म्याटर गर्छ । जात प्रणाली, जातीय असमानता, आदिवासी जनजाती अधिकार, अपाङ्गता भएका व्यक्तिहरू सबैका विषयवस्तुहरू म्याटर गर्छ र सबै प्रकारका सामाजिक र संस्थागत दमन ।
  3. विविधता – हामी विविधतालाई इम्ब्रेश गर्छौँ ।

गौरव यात्राका केही आस्पेक्टहरू :

  1. यो गौरव यात्रा युवा नेतृत्वको हो, यसलाई क्वयेर विविधतामा पहिचान गर्ने युवाहरूले नेतृत्व गरेको हो ।
  2. यस गौरव यात्राले सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्ति वा क्वयेर व्यक्तिका निम्ति छुट्टै दिवसको क्लेम गर्दछ ।
  3. बहुभाषी । हामी छवटा नेपाली मातृभाषाहरू र अङ्ग्रेजीमा गौरव यात्राको ब्यानरमा फेयेचर गर्नेछौँ । हामी सबै माझ नेपालका विभिन्न भाषाहरूमा ब्यानर/प्लेकार्ड बनाउनका निम्ति प्रोत्साहन गर्छौँ ।
  4. मौलिक नामहरूको प्रयोग । गत वर्ष हामीले माइतीघर मण्डलाबाट सुरु गरेको गौरव यात्रामा उक्त स्थानको मौलिक नाम ‘फिब्वःख्यः’को प्रयोग गरेका थियौँ ।
  5. हामी विविध क्वयेर पहिचानहरूलाई इङ्गित गर्ने विभिन्न झण्डाहरूको प्रयोग गर्छौँ । कृपया त्यसबारे जानकारी पाउन यो लेख हेरिदिनुहोला ।

नेपालको विभिन्न राष्ट्रिय भाषाहरूमा “गौरव यात्रा”लाई यसो भनिन्छ :

  1. नेपाली : गौरव यात्रा
  2. नेपालभाषा : 𑐐𑑁𑐬𑐧𑐫𑐵𑑅 / गौरबयाः
  3. तमु : ङ्होईल्वुबये भ्रज्ञाँ
  4. थाङ्मी : ताङ्तिनी मानाइसा
  5. लिम्बु : ᤜᤣᤴᤇᤠᤶ ᤋᤱᤏᤠᤔ / हेन्छाम् तङ्नाम
  6. केन्द्रिय तिब्बती (डोल्पो, ल्होवा, इत्यादी) : སྤོབས་པའི་ཁྲོམ་སྐོར Pobpei Tromkor
  7. तामाङ : གཽརབལཱ་ཀུངླདཱིབ गौरबला कुङ्लदीब

गौरव यात्रा सम्बन्धी हाम्रो मूल्य मान्यताहरू

यस वर्ष भौतिक भेलामा गौरव यात्रा नहुने भएतापनि हामी यस गौरव यात्राका केही मूल्य मान्यताहरू स्मरण गराउन चाहन्छौँ ।

  1. कुनै प्रकारको संस्थागत ब्यानर नहुने: नेपालको अधिकांश जुनसुकै र्यालिमा ब्यानर बोकेर उक्त संस्थाका मानिसहरू ब्यानर पछाडी उभिने ट्रेन्ड देखिन्छ । एकथरी यस्तो अभ्यास संस्थागत संलग्नता नभएका व्यक्तिहरूलाई असमावेशी छ भने अर्को थरी उक्त र्यालिहरू संस्था केन्द्रित हुनपुग्छ । गौरव यात्रामा कोही पनि आफ्नो संस्थाको ब्यानर नल्याउनुहोला, आयोजक टीमहरू समेत । गौरव यात्रा भनेको संस्थागत ब्यानर समातेर त्यसको पछाडी उभेर र्यालि गर्नु होइन । यो त मानव विविधताको विभिन्न पक्षहरूबाट मानिसहरू एकसाथ आएर लैङ्गिक तथा यौनिक विविधतालाई सेलिब्रेट गरी इम्ब्रेश गर्ने उत्सव हो ।
  2. कुनै भाषण नहुने: यो कुनै कोण सभा वा लेक्चर हैन । हामी कोही पनि निदाऊन् भन्ने चाहन्नौँ । हामी कतिखेर सुरु गर्छौँ र रूट के हो भनी छोटो एनाउन्समेन्ट मात्र हुनेछ ।
  3. कुनै विशेष अतिथि नहुने । हामी सबै स्पेशल हौं । कुनै सेलिब्रिटी वा भिआइपि संस्कृति मानिनेछैन ।
  4. कुनै नाराबाजी नहुने । यो प्रदर्शन होइन । संगीत, गीत, गाउने, नाच्ने र सबै प्रकारको रमाईलो । 
  5. कुनै प्रकारको दुर्व्यवहार र हिंसा सह्य हुँदैन । कसैलाई लैङ्गिक दुस्बोधन (मिस्जेण्डरिङ) नगरौँ । देहाकृतिको आधारमा लज्जित पार्ने – बाडी शेमिङ नगरौँ । सबैजना जुटेर यो एउटा सुरक्षित स्पेश बनाऔँ ।
  6. इन्द्रेणी पुँजीवाद (रेन्बो क्यापिटालिजम)को प्रयास नगर्नुहोला । कुनै कर्पोरेट को-अप्ट सह्य हुनेछैन ।
  7. सरकार, अन्तर्राष्ट्रिय दातृनिकायहरूबाट कुनै प्रकारको अनुदान स्वीकारिनेछैन । यो गौरव यात्रा क्वयेर व्यक्तिहरूकै आफ्नै बलबुतामा लोकली फन्डेद हुनेछ ।
  8. यदि कसैले कुनै घृणायुक्त टिप्पणी दिएमा के गर्ने ? कृपया सबैमाझ आवहान गर्नुहोस् । सबैजना आसपास जमा भएर मायाको नाराबाजी गरौँ । हामी अर्को वर्षको लागि केही गीत वा वाक्यांशहरू यस प्रयोजनको लागि तयार गर्नेछौँ ।

कुनै जिज्ञासा भएमा कृपया nepalprideparade@gmail.com मा ईमेल गर्नुहोला ।

2 thoughts on “सार्वजनिक वक्तव्य २०२०

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s