पारलैङ्गिक गौरव यात्रा

यो लेख यी भाषाहरूमा पनि पढ्नुहोस्: अङ्ग्रेजी, नेपालभाषा

पारलैङ्गिक गौरव यात्रा सन् २०२० देखि सुरु भएको हो । यो वार्षिक रूपमा डिसेम्बर १७ पछीको शनिबारका दिन मनाइन्छ । नेपाली भाषामा ‘पारलैङ्गिक’ शब्दको सुरुवात घोषणा भएको दिन सन् २०१९ डिसेम्बर १८ हो । यस अघि नेपाली भाषामा पारलैङ्गिक व्यक्तिहरूलाई सम्बोधन गर्ने शब्द नहुँदा अपमानजनक र गलत शब्दहरू प्रयोग गरिन्थ्यो । सन् २०१८ डिसेम्बर १७ को यसै भाषिक ल्यान्डमार्कलाई स्मरण गर्दै हामी त्यस पछिको शनिबारमा पारलैङ्गिक गौरव यात्रा मनाउछौँ ।

१७ डिसेम्बर कार्यालय दिनहरूमा पनि पर्न सक्ने हुनाले मानिसहरूको सहभागितालाई अझै सहज बनाउन त्यस मिति पछी आउने शनिबारका दिन पारलैङ्गिक गौरव यात्रा राखेका हौँ । डिसेम्बर १७ तारिख आफै शनिबार परेमा सोही दिन पारलैङ्गिक गौरव यात्रा मनाइनेछ ।

पारलैङ्गिक गौरव यात्राका लागि देहायका ह्यासट्याग प्रयोग गर्न सकिन्छ ।

  • #TransPrideNepal
  • TransPrideNepal(साल) – जस्तै सन् २०२२ का लागि – #TransPrideNepal2022
  • खस भाषामा #पारलैङ्गिकगौरव भनी प्रयोग गर्न सकिन्छ ।

अपडेट

  • आउँदो पारलैङ्गिक गौरव यात्रा सन् २०२२ डिसेम्बर १७, विसं २०७९ पुष २, नेसं ११४३ थिंला २९ (शनिबार) का दिन पर्दछ ।

फेसबुक इभेन्ट

सन्दर्भ

नेपालमा पारलैङ्गिक व्यक्तिहरू व्यापक रूपमा सिमान्तकृत छन् र पारलैङ्गिक व्यक्तिहरू बारे सामाजिक बुझाई पनि न्यून छ । नेपालमा सन् २००१ देखि ‘एलजिबिटीआइ’ अर्थात् समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक, पारलैङ्गिक तथा अन्तरलिङ्गी व्यक्तिहरूको आन्दोलन सुरु भएको भनिएतापनि पारलैङ्गिक व्यक्तिहरूको मुद्दा छेउ पारिएको छ । नेपालमा १२३ भन्दा पनि बढी भाषाहरू बोलिन्छ । तर नेपालको राज्यले भने एकलभाषी प्रावधान अपनाएको छ जसमा देशभरी नै देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र नेपालको औपचारिक कामकाजको भाषा बनाइएको छ । ‘एलजिबिटीआइ’ आन्दोलनको सुरुवातले अङ्ग्रेजी शब्द ‘ट्रान्सजेण्डर’लाई नेपालमा परिचित गराएतापनि नेपाली भाषामा यस्तो कुनै शब्द अस्तित्वमा नरहँदा पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक गलत बुझाई स्थापित हुन थाल्यो । धेरैजनाले पारलैङ्गिक व्यक्तिहरूलाई ‘तेस्रोलिंगी’ भनी हेर्न थाले ।

भाषाले समाजको झल्को दिन्छ । समाजको पितृसत्ता त्यसको भाषामा झल्किन्छ । समाजको महिलाद्वेषिता त्यसको भाषामा झल्किन्छ । समाजको जात प्रथा त्यसको भाषामा झल्किन्छ । त्यसै गरी हाम्रो समाज त्याचलैङ्गिक समीभाव (सिस्-नर्मेटिभिटी) र विषमयौनिक समीभाव (हेट्रो-नर्मेटिभिटी) भएको कारणले परम्परागत रूपमा लैङ्गिकता तथा यौनिकता बारे खुला, समावेशी र लाञ्छना रहित संवादको लागि भाषाको व्यापकता थिएन ।

पारलैङ्गिक पुरुषहरू ‘पुरुष’ हुन् र पारलैङ्गिक महिलाहरू ‘महिला’ हुन् र नेपाली भाषामा ट्रान्सजेण्डर व्यक्तिहरूलाई सम्बोधन गर्ने शब्द (पारलैङ्गिक) नहुँदा ‘तेस्रोलिंगी’ भनेर सम्बोधन हुने बाध्यकारी अवस्था सृजना गरियो । यद्यपि अङ्ग्रेजी भाषाको ‘ट्रान्सजेण्डर’ शब्दलाई ‘पारलैङ्गिक’ भनी नेपाली भाषामा शब्द परिचित समुदाय स्वयंले गरायो र यसले पारलैङ्गिक व्यक्तिहरू, विशेषतः महिला तथा पुरुष अन्तर्गत नै पहिचान गर्ने पारलैङ्गिक महिला तथा पारलैङ्गिक पुरुषहरूलाई भाषिक मान्यता दिलायो ।

पारलैङ्गिक व्यक्तिहरूलाई कसरी लिइन्छ, बुझिन्छ र पारलैङ्गिक व्यक्तिहरूको अधिकार अग्रगामी कसरी हुन्छ भन्ने विषयहरूलाई अर्थविज्ञान (सेम्यान्टिक्स)ले अत्याधिक असर पार्दछ । ‘पारलैङ्गिक’ शब्दावली परिचित नहुँदा ‘तेस्रोलिङ्गी’ भन्ने शब्दको प्रयोग गरिदिने अवस्थामा ‘तेस्रोलिङ्गी’ शब्द आफैले उक्त लैङ्गिकता महिला पनि नरहेको र पुरुष पनि नरहेको भन्ने अर्थ्यायो । यद्यपि ‘पारलैङ्गिक’ शब्दावली परिचित भएपछि पारलैङ्गिक पुरुषहरूले पुरुष लैङ्गिक पहिचान र पारलैङ्गिक महिलाहरूले महिला लैङ्गिक पहिचान दाबि गर्ने व्यापक वातावरण बन्न सक्यो ।

त्यसैले यो भाषिक स्थापना पारलैङ्गिक व्यक्तिहरूको लागि अत्यन्तै महत्वपूर्ण बन्न पुग्यो । नेपाली भाषामा ‘पारलैङ्गिक’ शब्द पारलैङ्गिक व्यक्ति तथा अधिकारकर्मीहरूले परिचित गराएको हो भने जनसमुदायले अपनत्व ग्रहण गरेका छन् । सर्वप्रथम यस शब्दलाई रुक्शना कपालीले आफ्नो कानुनी वकालत मार्फत् अघि बढाएर प्रयोग गरे भने क्रमशः पारलैङ्गिक महिलामा नूर केसी र पारलैङ्गिक पुरुषहरूमा सगुन थापा, आयान थपलिया एवं नाम खुलाउन नचाहने रुपन्देहीका एक पुरुषले यो शब्दलाई अघि बढाए । विभिन्न नागरिक समाज संस्थाहरूले पनि यो शब्दलाई अपनाउँदै गइरहेका छन् ।

पारलैङ्गिक व्यक्तिहरू, विशेषतः पारलैङ्गिक पुरुष तथा महिलाहरू समाजमा त्याचलैङ्गिक विषमयौनिक व्यक्तिहरूबाट मात्र नभई ‘एलजिबिटीआइ’ भनिएको आन्दोलन भित्र पनि विभेद, लाञ्छना र तिरस्कार भोग्दछन् । पारलैङ्गिक व्यक्तिहरूको अधिकारको अभियान आफैमा एउट्टा स्वायत्त आन्दोलन हो र त्यसलाई सँधै नै ‘एलजिबिटीआइ’को शाखाका रूपमा हेर्न हुँदैन ।

तसर्थ नेपालमा पारलैङ्गिक गौरव यात्राले पारलैङ्गिक व्यक्तिहरूको, विशेषतः पारलैङ्गिक महिला तथा पुरुषहरूको मुद्दा, अधिकार र दृश्यतालाई हाइलाइट गर्दछ र प्रमुखतः एउटा उत्सवको रूपमा मनाइन्छ ।